काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज एक शोक वक्तव्य जारी गरी दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले वक्तव्यमा भनेका छन्, ‘यस त्रासदीपूर्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गरेको छ। यस प्रकृतिका घटना दोहोरिन नदिने उपाय खोजिनेछ।’

प्रधानमन्त्री ओलीले वक्तव्यमा उद्धारमा खटिने नेपाली सेनासहित सबै सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, नागरिक उड्ययन, राष्ट्रसेवक कर्मचारी, घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिएका छन्।
दुर्घटनाको जानकारी पाए लगत्तै प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल पुगेर जानकारी लिएका थिए। ओलीले सरोकारवालाहरुलाई घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन पनि दिएका छन्।
प्रधानमन्त्री ओलीले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार गराइरहेका दुर्घटनाका घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए।
यसैबीच प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेजलाई टेलिफोन गरी विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
६ सदस्यीय जाँचबुझ आयोग गठन
मन्त्रिपरिषद् बैठकले सोमबार भएको युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले सो निर्णय गरेको हो। आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्य-सचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्।
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।