काठमाडौं- न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता सुनिलरञ्जन सिंहले सर्वाेच्च अदालतमा कार्यरत रहेका न्यायाधीशहरुको सम्पत्ति गोप्य राख्नु संविधान र सूचनाको हक सम्बन्धी ऐन विपरीत रहेको जिकिर गर्दै रिट दर्ता गराएका हुन्।
रिटमा न्याय परिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रतिनिधिसभा सचिवालयलाई विपक्षी बनाइएको छ।
अधिवक्ता सिंहले रिटमा न्यायिक गरिमा कायम राख्न पारदर्शी हुनुपर्ने भन्दै न्यायाधीशको सम्पत्ति सर्वसाधरण नागरिकले चाहेको समयमा हेर्न सक्ने हुनुपर्ने जिकिर गरेका छन्। संविधानको धारा २७ मा सूचनाको हक हुने ग्यारेन्टी गरिएको छ।
संविधानको उक्त व्यवस्था अनुसार सूचनाको हक सम्बन्धी ऐन निर्माण भएको र ऐनले गोप्य राख्नुपर्ने सूचनाहरुको सूची तयार गरेको रिटमा उल्लेख छ। गोप्य सूचीमा न्यायाधीशको सम्पत्ति उल्लेख नभएको जिकिर गर्दै रिटमा तत्काल माग भएको सूचना उपलव्ध गराउन उत्प्रेषणको आदेश माग गरिएको छ। सोमबार पेश भएको रिट अध्ययनका क्रममा रहेकाले मंगलबार मात्र दर्ता हुने वा दरपीठ हुने विषयमा निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।