हरारे– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत हङकङविरुद्ध नेपाललाई सातौँ सफलता हात परेको छ। वसन्त रेग्मीले तनविर अफ्जललाई १० रनको स्थितीमा दिपेन्द्र सिंह ऐरीको बलबाट क्याच गराएका छन्।
यसअघि हङकङका प्रारम्भिक ब्याट्सम्यान निजाकत खान ४७ रनको व्यक्तिगत स्थितिमा आउट भए। उनी अर्धशतक बनाउनबाट मात्र ३ रनले चुके।
नेपालका लागि खतरनाक हुनसक्ने अनुमान गरिएका खानलाई ललित राजवंशीले पारस खड्काको हातबाट क्याच आउट गराएका छन्।
समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाली बलरहरुको सामु हङकङको ब्याटिङ दबावमा आएको छ।
जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा टस जितेर हङकङले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो। ३३ ओभरको खेल सकिँदासम्म हङकङले ७ विकेट गुमाइसकेको छ। उसले हालसम्म आफ्नो स्कोरबोर्डमा १ सय ९ रन जोडेको छ।
प्रारम्भिक ब्याट्सम्यान क्रिस्टोफर कार्टर ९ रनको स्थितीमा वसन्त रेग्मीको बलमा बोल्ड भएका थिए। हङकङका कप्तान बाबर हयात तीव्र रन बनाउने होडमा सोमपाल कामीको हातबाट कट एन्ड बोल्ड हुन पुगे। आयट हुनुअघि उनले १ छक्का र ३ चौका प्रहार गरी २० रन जोडे।
अन्सुमन राठ र साहिद वासिफ समान १/१ रनमा लेग स्पिनर सन्दीप लामिछानेको सिकार भए। त्यसपछि मैदान छिरेका सिमान्दिप सिंहलाई ज्ञानेन्द्र मल्लले ३ रनको व्यक्तिगत स्कोरमा रन आउट पेबेलियनको बाटो देखाए। सिंह रनआउट भएका हुन्।
प्रतियोगिताको सुपर–६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढी(पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा)ले पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।