हरारे– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको अन्तिम खेलमा नेपाली स्पिनरहरुको बलिङसामु हङकङ दबावमा आएको छ। हङकङले २५औं ओभरमै ७ विकेट गुमाइसकेको छ। नेपाली स्पिनरहरु बसन्त रेग्मीले २ र सन्दीप लामिछानेले ३ विकेट हात पारेका छन्।
जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा टस जितेर हङकङले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो। हङकङले ३३ ओभरको खेल सकिँदा १ सय ९ रन जोडेको छ।
प्रारम्भिक ब्याट्सम्यान क्रिस्टोफर कार्टर ९ रनको स्थितिमा वसन्त रेग्मीको बलमा बोल्ड भएका थिए। हङकङका कप्तान बाबर हयात तीव्र रन बनाउने होडमा सोमपाल कामीको हातबाट कट एन्ड बोल्ड हुन पुगे। आउट हुनुअघि उनले १ छक्का र ३ चौका प्रहार गरी २० रन जोडे।
अन्सुमन राठ र साहिद वासिफ समान १/१ रनमा लेग स्पिनर सन्दीप लामिछानेको सिकार भए। त्यसपछि मैदान छिरेका सिमान्दिप सिंहलाई ज्ञानेन्द्र मल्लले ३ रनको व्यक्तिगत स्कोरमा रन आउट गरी पबेलियनको बाटो देखाए।
प्रतियोगिताको सुपर–६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढी(पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा)ले पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।