हरारे– आइसिसी एकदिवसीय विश्वकप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा टस जितेर हङकङले ब्याटिङ रोजेको छ।
समूह 'बी' को अंक तालिकाको पुछारमा रहेको नेपालले आज जित हात पारे एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ।
आइसिसी एकदिवसीय विश्वकप छनोटमा लगातार तीन खेलमा विजयी भएपछि एकदिवसीय मान्यता पाउने र सुपर ६ मा पुग्ने नेपालको लक्ष्य संकटमा परेको छ। यद्यपी अन्तिम खेलमा जित हात पारे नेपालले आफ्नो लक्ष्य पूरा गर्ने झिनो आसा भने बाँकी नै छ।
पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह 'ए' को नजितामा भर पर्नेछ। समूह 'ए' नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ। तर यो समीकरण पूरा हुन पनि कठिन छ। किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ।
सुपर ६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढी(पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा)ले पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ।
प्रतियोगितामा अफगानिस्तानलाई पराजित गरेको हङकङ बलियो टिम हो। हङकङले जिम्बावेविरुद्ध पनि राम्रो ब्याटिङ गरेको थियो।
प्रतियोगितामा ब्याटिङमा सुधार गरे मात्र नेपालले जित निकाल्न सक्नेछ। कप्तान पारस बाहेक अन्य खेलाडीले प्रतियोगितामा सम्झनलायक ब्याटिङ गर्न सकेका छैनन्। पारसले स्कटल्यान्ड र अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए।
हङकङ विरुद्धको पछिल्ला नतिजा
नेपाल र हङकङबीच प्रतियोगिताअघि वार्म अप खेल हुने तय भएपनि वर्षाका कारणले रद्द भएको थियो।
त्यसअघि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेलमा पनि वर्षा वाधक बनेको थियो। पहिलो खेलमा भने नेपाललाई हङकङले पराजित गरेको थियो। गत अक्टोबरमा हङकङमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको हङकङ १ सय ९४ रनमा अलआउट भयो। तर नेपालले १ सय ११ रन मात्र जोड्न सक्यो। खेलमा नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन जोडेका थिए।
सन् २०१४ मा भएको विश्वकप छनोटमा नेपाललाई हङकङले १० विकेटको फराकिलो अन्तरले हराएको थियो। पहिले ब्याटिङ गरेको नेपालले १ सय ५० रनमा अलआउट भएको थिय। १ सय ५१ रनको लक्ष्य हङकङले बिनाविकेटको क्षतिमा पार गरेको थियो।
नेपाली टिमः पारस अड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, अलिन शाह(विकेट किपर), दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, सोमपाल कामी, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशी
हङकङ टिमः बाबर हयात(कप्तान), निजाकत खान, क्रिस्टोफर कार्टर(विकेट किपर), अन्सुमन राठ, साहिद वासिफ, मन्दिप सिंह, एहसान खान, ऐजिज खान, तन्बिर अफ्जल, ऐहसान नवाज र नदिम अहमद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।