धनगढी- जिल्ला कारागार कैलालीको थुनामै अनसन बसिरहेका २४ जना बन्दीले अनसन स्थगित गरेका छन्। टीकापुर घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका २४ जनाले आज ४ बुँदे सहमति गरी अनसन स्थगित गरेका हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी उम्मेदवार रेशमलाल चौधरीको विजयको प्रमाणपत्र र सपथग्रहणको विषय तथा टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका २५ जना बन्दीमाथि लगाइएको झुटो मुद्दालाई राजनीतिक रुपमा बढीमा १५ दिनभित्र सम्बोधन गरी यथाशाक्य क्षतिपूर्ति सहित रिहाईका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा जानकारी गराउने विषयमा सहमति भएको हो।
यस्तै, थरुहट संघर्ष समितिले उठान गरेका पहिचान सहितको अधिकार सम्पन्न सीमांकनका सम्बन्धमा भएको छिनोफानो र प्रगतिका सम्बन्धमा अनसनरत पक्षलाई जानकारी गराउने र अनसनरत पक्षहरुको स्वास्थ्य परीक्षण गराई उचित स्वास्थ्य उपचार गर्ने सहमति भएपछि उनीहरुले आमरण अनसन स्थगित गरेका हुन्।
सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्नुपर्ने, सम्पूर्ण बन्दीलाई रिहा गर्नुपर्ने लगायत माग राखेर उनीहरुले फागुन २० बाट अनसन थालेका थिए। टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई पक्राउ गरी कारागार लगिएपछि उनकै नेतृत्वमा अनसन सुरु भएको हो।
सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याउँदै विजयी प्रमाणपत्र लिएर सपथमा उपस्थित हुने प्रयास गरे पनि असफल भएपछि चौधरीले जिल्ला अदालत कैलालीमा फागुन १४ गते आत्मसमर्पण गरेका थिए। अनसन बसेकै अवस्थामा स्वास्थ्य अवस्था बिग्रिएपछि चौधरीलाई भने थप उपचारका लागि शनिबार काठमाडौं लगिएको छ।
२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।