इटहरी– बलात्कार अभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले पुनः ७ दिनको म्याद थप गरेको छ। यसअघि अनुसन्धानका लागि अदालतले दिएको ४ दिनको म्याद सकिएपछि प्रहरीले गिरीलाई दोस्रोपटक अदालतमा हाजिर गराएको हो ।
आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोपमा छानबिन भइरहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले १० दिनको म्याद मागेको थियो । तर अदालतले ७ दिनमात्र म्याद थप गरेको हो।
प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो।
प्रहरीले गिरीसँग बयान लिइरहेको छ। बयानका क्रममा गिरीको रगत र वीर्यको मद्दतले डीएनए परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइसकिएको प्रहरीले जनाएको छ।
करणी भएको भनिएको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीसँग पनि प्रहरीले बयान लिइरहेको छ। अनुसन्धान टोलीले भान्से, बडीगार्ड र उनीसँगै रहेका अन्य अनुयायीको बयान लिएको हो।
करणीको दाबी गरिएको कात्तिक ४ गतेयता र त्यसअगाडि गिरी र आरोप लगाएकी महिलाबीचको टेलिफोन ‘कल डिटेल’ पनि प्रहरीले अध्ययन गरिरहेको छ।
अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा र प्रहरी निरीक्षक सुभेष अधिकारी छन्। शुक्रबार ७ दिने म्याद थप भएपछि प्रहरीले आरोपित गिरीको बयान लिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।