एजेन्सी– भारतको मध्यप्रदेशस्थित भोपालमा ग्याँस त्रासदी भएको ३५ वर्ष पुगेको छ। १९८४ को २ र ३ को रातमा भएको त्यो भयावह घटना, जसमा हजारौं निर्दोषले ज्यान गुमाएका थिए।
भोपालको जयप्रकाश नगर‚ जसलाई जेपी नगर पनि भनिन्छ। उक्त दिन जेपी नगरमा रहेको युनियन कार्बाइड इन्डिया (एमआइसी) मा विषाक्त ग्याँस लिक भयो जुन ठाउँलाई अहिले पनि विश्वको सबैभन्दा ठूलो औद्योगिक त्रासदी भएको ठाउँका रुपमा चित्रण गरिन्छ।
भोपाल युनियन कार्बाइड केमिकल प्लान्टबाट निस्केको विषालु ग्याँसका कारण २४ घन्टामा तीन हजार मानिसले ज्यान गुमाएका थिए। हजारौं मानिस यो ग्याँसको असरका कारण विभिन्न शारीरिक अपाङ्गताको शिकार हुन पुगेका थिए।
कैयौं मानिसलाई फोक्सोसम्बन्धी रोग लागेको थियो। कयौं मानिस यही ग्याँसका कारण जिन्दगीभर विकलाङ्ग भएका थिए। गर्भमा रहेका बच्चासमेत यसको शिकार भएका थिए।
विषालु ग्याँसको असर र रातमा भएको भागदौडमा हजारौं मानिसका साथै पशुपन्छीले पनि ज्यान गुमाएका थिए। उक्त घटनाको क्षतिपूर्ति भारत सरकारले आजसम्म पुरा गर्न सकेको छैन। उक्त रात कति मानिस मरे भन्ने एकिन तथ्यांक सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। यो घटना तत्कालीन समयमा मात्र भएन यसले मानव स्वास्थ्यमा दीर्घकालीन असरसमेत छाडेर गयो। ६५ वर्षीय प्रताप सिंह युनियन कार्बाइड कारखानाको ठिक अगाडि सानो पसल चलाएर बस्छन्। उनको छेउमै आफन्त गुमाएका मानिसहरु बस्छन् र उक्त दिनको सम्झनामा आँसु बगाउँछन्।
हरेकपटक यो त्रासदीको सम्झना र कसैले सोध्दा उनीहरु चिच्याएर रुने गर्दछन्। यसरी यो त्रासदीमा परेर मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ त दिइयो तर त्यो जीवन चलाउन पर्याप्त देखिँदैन।
उक्त रात सम्झँदै उनी भन्छन्‚ ‘एक्कासी सास फेर्न नसक्ने विषालु ग्याँस फैलियो। आँखाहरु राता भएर बन्द हुन लागे र मानिसहरु आँखा चिम्लेर भागदौड मच्चाउन थाले। यस्तो भागदौडमा कयौ बालबच्चा किचिएरसमेत मरे।’
प्रताप पनि आँखा बन्द गरेर भागे यसरी भाग्दा उनको अनुहार कुनै कठोर वस्तुमा ठोकियो‚ उनी बेहोस भए। जब उनी होसमा आए उनको दुनियाँ अँध्यारो भइसकेको थियो। जेपी नगरको हर घरमा यही कहानी दोहोरियो।
यस्तै घटनाका अर्का साक्षी हुन् नूर हसन। उनी उक्त समयमा १४ वर्षकी थिइन्। उक्त दिन मृत्युलाई साक्षात्कार गरेर फर्केको उनी बताउँछिन्।
‘जब ग्याँस फैलियो त्यहाँ भयावह दृश्य सुरु भयो‚ भागदौडसँगै विषालु ग्याँसले सबै अन्धकार बनाएर घेरेको थियो। सडकमा जनावर‚ मानिसहरु मरेको कुनै हिसाब नै थिएन‚’ उनले उक्त त्रासदी सम्झे‚ ‘रुख बिरुवा र फलफूलहरु काला भइसकेका थिए , हाम्रो घरमा त्यो दिन पाहुनाहरु आएका थिए, काकाको छोरा हाम्रो घरमा पाहुना आएर सुतेको थियो त्यसपछि ऊ कहिल्यै ब्युँझिएन।’
सञ्जय ग्याँस पीडितमात्र भएनन् यो पीडा उनको सन्तानमा पनि देखियो। घटनापछि उनले विवाह गरे। दुर्भाग्य, उनीहरुबाट जन्मेको बच्चा अपाङ्ग भयो। उनीमात्र होइन गाउँभरि नै यही समस्या देखिएको छ। कसैको सन्तानको हात छैन त कसैको खुट्टा नभएका बच्चा जन्मिएका छन्।
फोटोग्राफर जुडा पासोले यस्ता मानिसहरुको जिन्दगीलाई तस्बिरमा उतार्ने प्रयास गरेका छन्।
बीबीसी हिन्दी र द वाइरको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।