काठमाडौं– सरकारले एमबीबीएस तथा बीडीएसका लागि सरकारद्वारा निर्धारित शुल्क कार्यान्वयन गर्ने सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ। चिकित्सा शिक्षा आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा यही मंसिर १० गते बसेको बैठकले शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार आयोगले शुल्क कार्यान्वयनका सम्बन्धमा छलफल, अध्ययन तथा छानबिन गरी सुझाव पेश गर्न कार्यदल गठन गरेको हो। आयोगले यही मंसिर १७ गते विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफलसमेत गरेको थियो।
आयोगका उपसचिव तुलसीप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा चालु शैक्षिक सत्र २०७६/७७ का लागि एमबीबीएस तथा बीडीएसका लागि शिक्षण शुल्क तोकिइसकेको उल्लेख गर्दै त्यसभन्दा बढी शुल्क नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ। यसका साथै तोकिएभन्दा बढी शुल्क नतिर्न पनि विद्यार्थी तथा अभिभावकलाई आयोगले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।