काठमाडौं– ‘आफ्नै भूमीमा सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको छ’, दुई दशकभन्दा अघिदेखि निरन्तर रुपमा गीत–संगीत सृजनामा सक्रिय कस्तुप पन्तले सम्मान ग्रहण गरेपछि भने, ‘जन्मभूमीको सम्मानको गरीमालाई सधैं कायम राख्ने मेरो प्रयत्न रहन्छ।’
लोक तथा आधुनिक गीतसंगीतमा चर्चा कमाएका स्रष्टा पन्तलाई उनकै गृहजिल्ला पर्वतको फसेवासमा बिहिबार सम्मान गरिएको हो। फलेवासमा आयोजित प्रथम फलेवास महोत्सवको अवसरमा पन्तलाई गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले सम्मान गरे।
आयोजक यूनाइटेड स्पोर्ट क्लबका प्रतिनिधिले समेत कलाकार पन्तलाई सम्मान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए। आफ्नो सृजनशील करिअरको प्रारम्भमा लोक गायनबाट संगीत यात्रा शुरुवात गरेका पन्तले पछिल्लो वर्षहरुमा लोक सँगसँगै आधुनिक संगीतमा आफ्नो सक्रिय उपस्थिति देखाइरहेका छन्।
‘अवका दिनमा पनि मेरो सक्रियता उत्तिकै रहने छ’, पर्वत कलाकार समाजका अध्यक्ष पनि रहेका स्रष्टा पन्तले भने, ‘संगीत सृजनासँगसँगै हामीले समाजसेवालाई पनि प्राथमिकतामा राखेका छौं। यो सम्मानले मलाई यसप्रति पनि उत्प्रेरित गरेको ठानेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।