वासिङ्टन- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू)का महासचिव क्रिस्टिन क्याटनरबीच भेटवार्ता भएकाे छ।
भेटमा राप्रपा र आईडीयूको सम्बन्ध सुदृढ तुल्याउनेबारे छलफल भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। सो अवसरमा सहायक महामन्त्री प्रेम श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीसमेत उपस्थित थिए।
वासिङ्टन डिसीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ। हिजोदेखि शुरु भएको सम्मेलन तीन दिन सम्म चल्नेछ।
सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनुका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको सम्वर्द्धनका बारेमा समेत बिचार विमर्श हुनेछ। यसअघि थापाले बाल्टिमोरमा आयोजित प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनको उद्घाटन गरेका थिए। साथै एनआरएनएद्वारा टेक्सासको ड्यालसमा आयोजित अन्तक्रिर्या कार्यक्रममा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।