काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको समस्या चाँडै नै सरकारले समाधान गर्ने बताएकी छन्।
बिहीबार मन्त्रालयमा गुठी बचाऊ अभियानको ध्यानकर्षणपत्र बुझ्दै उनले गुठीको समस्या अब लामो समय नरहने बताइन्। विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको राजगुठी, सरकारी र निजी तीनवटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले निजी गुठी निजी गुठीयाराकै सम्पत्ति भएको बताइन्।
‘निजी गुठीको हकमा गुठीयार ल्याएको कुरा नै हामी मानेर जान्छौँ। बाँकी गुठीको समस्या गुठी संस्थानले नै समाधान गर्दछ।’ मन्त्री अर्यालले भनिन्, ‘हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौँ। सुशासन कायम गर्ने अभियानमा राज्य छ। यो जनता र राष्ट्रकै निम्ति फाइदा हुने कुरा हो।’ गुठीयारको हकहितका लागि नै विधेयक फिर्ता लिएको भन्दै उनले अब नयाँ ढङ्गबाट विधेयक अगाडि बढ्ने बताइन्।
गुठीका सम्पत्तिलाई संरक्षणको अभाव रहेको भन्दै गुठीलाई कानूनबाट नै व्यवस्थित गर्नतिर सरकार लागेको बताइन्। सरकारले गुठी विधेयकलगायतका विषयलाई समेटेर नयाँ एकीकृत भूमि विधेयक ल्याउने तयारी गरिएको उनले जानकारी गराइन्।
अभियानका संयोजक डा महेशमान शाक्यले सरोकारवाला सबैसँग छलफल गरेर गुठीयारको पक्षमा विधेयक ल्याउनुपर्ने बताए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।