पोखरा- १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बिहीबारदेखि पोखरामा आर्चरी खेल सुरु भएको छ।
पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि बिहीबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु भएको हो। पाकिस्तानले अन्तिम अवस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास (वामअफ) खेल भएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए।
मंसिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३औं साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गरेका हुन्। पोखरामा साग हुनुले पोखराको खेल पर्यटनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।
पोखरामा हुने साग अन्तर्गतका खेलहरू भव्य रुपमा सम्पन्न गर्न सबैमा सांसद रेग्मीले आह्वान समेत गरेका छन्। बिहीबारदेखि र्याङकिङ राउण्ड सुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकोले शुक्रबारदेखि र्याङकिङ राउण्ड सुरु हुने भएको संघका वरिष्ठ उपाध्यक्ष थकालीले बताए।
प्रतियोगितामा नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागी भएका छन्। भुटानका ९ जना खेलाडीहरू प्रतियोगितामा सहभागी हुदैछन् भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागी हुने भएका छन्। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने भएका हुन्। यस प्रतियोगितामा सहभागी खेलाडीहरूको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।