काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदूत डा. फलाह अब्लुल्हसन अब्दुलसदाले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले राजदूत अब्दुलसदालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले इराकमा ठूलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेका नेपालीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।
नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटक आगमनका लागि वातावरण बनाइदिन राजदूतसँग गृहमन्त्री थापाले आग्रह गरे ।
राजदूत डा। अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफूहरु गम्भीर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरे।
उनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवादविरुद्ध आफूहरुको लडाईंमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे। उनले भारतमा बर्सेनि ८० हजार इराकी पर्यटक आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठूलो संख्यामा इराकी नेपाल आउने बताए।
जवाफमा गृहमन्त्री थापाले इराकीका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफूले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।