काठमाडौ-विगतकोभन्दा घरेलु मैदानमा भएको दक्षिण एसियाली खेलकुद (साग) नेपालका लागि ऐतिहासिक हुने भएको छ। १३औं सागमा ३२ स्वर्ण पदक जित्दै नेपालले कीर्तिमान कायम गरेको छ।
नेपालले यसअघि ३१ वटासम्म स्वर्ण जितेको रेकर्ड थियो । यो सागमा नेपालले आफ्नो इतिहास तोडेर नयाँ निर्माण गरेको छ। आठौ सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो। १२ औ सागमा भने नेपालले ३ स्वर्णमात्र जित्न सफल भएको थियो ।
बिहीबार बुद्धिबहादुर तामाङले साइक्लिङमा नेपालका लागि ३२औं स्वर्ण जितेसँगै नयाँ इतिहास निर्माण भएको हो ।
लक्ष्मी मगरले साइक्लिङमा ३१औं स्वर्ण जितेसँगै नेपालले आठौं दक्षिण एसियाली खेलकुद (साग) को कीर्तिमान बराबरी गरेको थियो। सोमबारबाट सुरु भएको करातेमा नेपालका लागि पहिलो स्वर्ण मन्डेकाजी श्रेष्ठले एकल कातामा जितेर सुरु गरेका थिए।
जारी १३औं सागमा विगतको तुलनामा उत्कृष्ट नतिजा हासिल गरिरहेको नेपालले प्रतियोगिताका पाँचौं दिनमै हासिल गरेको यो सफलताले नयाँ कीर्तिमान बनाएको हो। प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको थियो। नेपालले दोस्रो दिन ८ स्वर्ण थपेर २३ पु¥याएको थियो। तेस्रो दिन ६ स्वर्ण जितेर २९ पुर्याएको नेपालले बिहीबार थप दुई पदक जित्दै कीर्तिमान बराबरी गरेको थियो।
जारी सागमा नेपाल ३२ स्वर्ण, १७ रजत र २९ काँस्य गरी कूल ७८ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा छ। ३८ स्वर्ण, ३२ रजत र १५ काँस्य गरी कूल ८५ पदकसहित भारत पदक तालिकाको पहिलो नम्बरमा छ।
साग पदक तालिकाको तेस्रो नम्बरमा श्रीलंका छ। श्रीलंकाले १२ स्वर्ण, २५ रजत र ४३ काँस्यसहित कूल ८० पदक जितेको छ। चौथौं नम्बरमा रहेको पाकिस्तानले १० स्वर्ण, १८ रजत र २० काँस्य गरी कूल ४८ पदक हात पार्न सफल भएको छ।
बंगलादेश ४ स्वर्ण, ७ रजत र २८ काँस्यसहित कूल ३९ पदक जिती पाँचौं नम्बरमा छ। माल्दिभ्सले २ स्वर्ण र २ काँस्य गरी कूल ४ पदक जिती छैटौं नम्बरमा रहन सफल भएको छ। पदक तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले हालसम्म ४ काँस्यमात्र जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।