काठमाडौं- बिहीबारदेखि वासिङटन डिसीमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। क्यानाडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको छ।
सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ। नेपाली प्रतिनिधि मण्डलमा राप्रपा का सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी छन्।
सम्मेलनमा प्रजातन्त्र,वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनुका साथै परम्परागत मूल्य मान्यता र संस्कृतिको सम्वर्द्धनका समेत विचार विमर्श हुनेछ। वासिङटन डिसीमा आजै आइडियुका अध्यक्ष तथा क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको छ।
भेटका अवसरमा विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
यसैबीच अध्यक्ष कमल थापा र एसिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्स बिच पनि आजै शिष्टाचार भेट सम्पन्न भएको बर्तौलाले बताए।
भेटघाटमा पार्टीका सहायक महामन्त्री प्रेम कुमार श्रेष्ठ र आमन्त्रित केन्द्रिय सदस्य लोकनाथ तिवारी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।