कोलम्बो (एजेन्सी)– मुश्फिकर रहिमको अविजित ७२ तथा लिटन दासको ४३ रनको सहयोगमा बंगलादेशले त्रिकोणात्मक टि–२० क्रिकेट शृंखलाअन्तर्गत श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ। प्रेमादासा रंगशालामा २ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशले २ बल खेल्न बाँकी रहँदा जित सम्भव पार्यो।
भारतलाई पहिलो खेलमा पराजित गरेको घरेलु टिम श्रीलंकाको बंगलादेशविरूद्ध यो शृंखलामा पहिलो हार थियो।

बंगलादेशले टि–२० क्रिकेटमा चौथो ठूलो लक्ष्यलाई पछ्याउँदै जित निकालेको हो। टि–२० मा सर्वाधिक ठूलो लक्ष्य अस्ट्रेलियाले सन् २०१८ मा न्युजिल्यान्डविरूद्ध(२ सय ५४ रन) पछ्याएको थियो।यसपछि वेष्ट इन्डिजले २०१५ मा दक्षिण अफ्रिकाविरूद्ध २ सय ३६ र इंग्ल्यान्डले २०१६ मा दक्षिण अफ्रिकाविरुद्ध नै २ सय ३० रनको लक्ष्य पछ्याउँदै जित निकालेको थियो।
बंगलादेशका लागि लिटन दासले १९ बलमा ४३ रन बनाएका थिए। उनले तमिम इकबाल( ४७ रन) सँग मिलेर ७४ रनको साझेदारी गरेका थिए। लिटनको इनिङमा ५ छक्का समावेश थियो। यसपछि मुश्फिकर रहिमले ३५ बलमा अविजित ७२ रन बनाए।

यसअघि कुसल मेन्डिस र कुसल परेराको अर्धशतकमा श्रीलंकाले ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो। वर्षाका कारण १५ मिनेट ढिलो टस भएको यो खेलमा मेन्डिसले ३० बलमा ५ छक्काको सहयोगले ५७ रन बनाएका थिए। परेराले आठ चौका र २ छक्काको सहयोगले ४८ बलमा ७४ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।