चिप्लेढुङ्गा- १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ। मङ्गलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए।
उनका अनुसार नेपालसहित भूटान, श्रीलङ्का र बङ्गलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन्। भूटानका नौ खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन्। तीन देशका १६/१६ खेलाडी सहभागी हुने छन्। प्रतियोगिताको बिहीबार बिहान उद्घाटनपश्चात र्याङकिङ राउण्ड सुरु हुने भएको उपाध्यक्ष थकालीले बताए। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन्। प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले र्याङकिङ गर्ने भएको छ। विश्व आर्चरी महासङ्घबाट प्रतिबन्ध (सस्पेन्स) भएको भारत १३औँ सागमा सहभागी नहुने भएको छ।
राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकाले हाल आफूहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले बताए। पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अवस्थामा महिला क्रिकेट भएसँगै आर्चरीलाई प्रशिक्षणका लागि ठाउँ अभाव भएको हो।
आर्चरी यही मङ्सिर २३ गतेसम्म हुने खेलाडी योगेन्द्र शेरचनले बताए। उनका अनुसार २२ र २३ गते पदकका लागि फाइनल खेल हुनेछ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने भएको छ। सहभागी देशका खेलाडीले बुधबार प्रतियोगितास्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षणसमेत गरेका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।