काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटमा समूह 'बी' बाट सुपर ६ मा पुग्ने २ टिमको टुंगो लागेको छ। शनिबार हङकङलाई ८९ रनले पराजित गरेसँगै जिम्बावेले सुपर ६ मा स्थान पक्का गरेको हो। यसअघि यो समूहबाट स्कटल्यान्डले सुपर ६ मा स्थान पक्का गरिसकेको छ। दुवै टिमले समान ३–३ खेलमा जित निकाले।
अब १–१ खेल जितेका हङकङ र अफगानिस्तान तथा तीनै खेलमा पराजित भएको नेपाल मध्ये एक टिमले सुपर ६ मा स्थान पक्का गर्नेछन्। सोमबार हुने नेपाल र हङकङबीचको खेलबाट सुपर ६ मा पुग्ने १ टिमको टुंगो लाग्नेछ।
नेपाललाई पराजित गरे हङकङ सुपर ६ मा पुग्नेछ। नेपाल र अफगानिस्तान बाहिरनेछन्। नेपालले झिनो अन्तरले हङकङलाई पराजित गरे रनरेटमा अघि रहँदै अफगानिस्तान सुपर ६ मा पुग्नेछ। हङकङमाथि फराकिलो अन्तरको जित निकाले नेपालको सम्भावना हुनेछ। नेपालका लागि यो समिकरण कठिन भएपनि असम्भव भने छैन।

समूह 'ए' बाट भने लगातार ३ जित निकाल्दै वेस्ट इन्डिज सुपर ६ मा पुगेको छ। वेस्ट इन्डिजले शनिबार आयरल्यान्डलाई ५२ रनले पराजित गर्दै सुपर ६ मा स्थान पक्का गरेको हो। लगातार ४ हार बेहेरेको पपुवा न्युगिनी भने बाहिरिएको छ। अब अायरल्यान्ड, यूएई र नेदरल्यान्ड्स मध्ये २ टिम सुपर ६ मा पुग्नेछन्। सोमबार वेस्ट इन्डिजलाई पराजित गरे नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ। पराजित भएपछि नेदरल्यान्ड्स बाहिरिनेछ भने आयरल्यान्ड र यूएई सुपर ६ पुग्न सक्नेछ। नेदरल्यान्ड्स विजयी भएको अवस्थानमा आयरल्यान्ड र युएईबीचको विजेता सुपर ६ मा पुग्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।