धरान- धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले कर पुनरावलोकन गर्ने निर्णय गरेका छन्।
बुधबार पहिलो दिन कार्यभार सम्हाल्दै राईले राजस्व र करको दर पुनरावलोकन गर्ने निर्णय सदर गरेका हुन्।
उपमहानगरपालिकाका प्रशासकीय अधिकृत बिनोदकुमार पोखरेलले कर र राजस्व पुनरावलोकन गर्न विज्ञ सम्मिलित अध्ययन कार्यदल बनाउने प्रस्ताव कार्यपालिका बैठकमा लैजान गरेको प्रस्तावलाई मेयर राईले सदर गरेका हुन्।
यसअघि, पाँचौ नगरसभाले पारित गरेर लागु गरेको आर्थिक ऐन २०७६ को केही राजश्वका दरहरुप्रति व्यापक गुनासो र अस्पष्ट देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिनको लागि विशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए।
करलाई व्यवहारिक र वैज्ञानिक बनाउने निर्णय भएको र यसमा सहयात्री राजनीतिक दलले पनि विश्वास दिएको राईले बताए। राजनीतिक दल र नगरबासीहरुको भावना अनुसार कर पुनरावलोकन गरेर कार्यान्वयन गरिने उनको भनाइ छ।
अब केही समयपछि बस्ने नगरकार्यपालिकाको बैठकमा कर घटाउने प्रस्ताव लगिने मेयर राईले बताए। पदभार ग्रहण गर्नुअघि मेयर राईले धरान-१६ स्थित गणेशमानको सालिकमा र धरान १९, हरियाली वन समुह परिसरमा स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा पनि माल्यार्पण गरेका थिए।
मेयर राईले उपमहानगरपालिकामा आउने सबै मुद्दा एवं एजेण्डाहरु व्यक्तिगत र पार्टी विशेषको नभई समग्र नगरबासी र नगरको हितमा हुने पनि बताए। यसअघि कार्यपालिका बोर्डले नगरबासी र नगरको हितमा अगाडि बढाएको योजनाहरुबिना हिच्किचाहट आफुले पनि अगाडि बढाउने उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।