काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत महत्वपूर्ण खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पहिलो विकेट गुमाएको छ। ओपनिङमा आएर आक्रमक सुरुवात गरेका अफगानिस्तानका कप्तान रसिद खान १४ बलमा २१ रन बनाएर आउट भए। उनलाई करण केसीले ललित राजवंशीबाट क्याच गरेका हुन्।
अफगानिस्तानले ७ ओभरमा १ विकेटको क्षतिमा ३४ रन जोडेको छ।
यसअघि जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। पारसले ७५ रन जोडेर लिस्ट एको खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए। पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।
ओपनर ज्ञानेन्द्रले २३ रन जोड्दा अनिलकुमार साह भने ७ रनमा आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि ६९ बल खेल्दा २ चौका हिर्काए।
दीपेन्द्रसिंह ऐरीले ३२ रनको योगदान दिए। उनले ४१ बलमा ३ चौका र १ छक्का हिर्काए। आरिफ शेखले ३६ बलमा ३ चौकाको मद्दतमा २३ रन बटुले। सोमपाल कामी ९ र रोहितकुमार पौडेल १ रनको झिनो स्कोरमा आउट भए। करण केसीले १ छक्का प्रहार गर्दै ६ रनमा आउट भए। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन्। बसन्त रेग्मीले नटआउट ९ रन जोडे।
बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। उनले पारस, रोहित, आरिफ र सोमपाललाई आउट गरे। कप्तान रसिद खानले ३ विकेट हात पारे। सापूर जार्डानले २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट हात पारे।
चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण छ। किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो।
सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले आज अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।