काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालले सुरुवाती ३ विकेट गुमाएको छ। खेलमा नेपालका कप्तान पारस खड्का ७५ रनमा आउट भएका छन्। उनले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए। उनले ६९ बलमा २ चौका प्रहार गरे। पारस र ज्ञानेन्द्रबीच दोस्रो विकेटका लागि ९२ रनको साझेदारी भएको थियो
ओपनिङमा आएका अनिलकुमार साह भने ७ रनमा आउट भए। उनलाई मुजिव उर रहमानले एलबिलडब्लुको धरापमा पारे।
नेपालले ३१ ओभरमा ३ विकेटको क्षतिमा १ सय १६ रन जोडेको छ। अहिले रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी ब्याटिङ गरिरहेका छन्।
चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण छ। किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले आज अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।