काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अफगानिस्तान विरुद्धको महत्वपूर्ण खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको छ।
अघिल्ला खेल खेलेका मध्यक्रमक ब्याट्सम्यान शरद भेषावकर र ओपनर दिलीप नाथ अफगानिस्तान विरुद्ध खेल्ने छैनन्। अफगानिस्तान विरुद्ध अनिलकुमार साह र करण केसीलाई मौका दिइएको छ। शरद हामस्ट्रिङको समस्याका कारण मैदान उत्रन नसक्ने भएका हुन्। नाथ भने पछिल्लो सयम फर्ममा थिएनन्।
खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण छ। किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।