काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार देखि सुरु भएको गल्फ खेलमा नेपालका शुक्रबहादुर राईले एकल अग्रता लिएका छन्।
पार ७२ को गोकर्ण गल्फ कोर्समा पहिलो दिन शुक्रले चार अण्डर ६८ खेले। पुरुष व्यक्तिगततर्फ शुक्र शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा नेपालकै टंकबहादुर कार्की छन्। टंकले तीन अण्डर ६९ खेलेका छन्।
व्यक्तिगततर्फ बंगलादेशका मोहम्मद सोमरत तेस्रो स्थानमा छन्। पहिलो दिन सोमरतले दुई अण्डर ७० खेले। पुरुषको टिम स्पर्धामा पनि नेपाल शीर्ष स्थानमा छ। नेपालका शुक्रले ६८, टंकले ६९, सुवास तामाङले एक अण्डर ७१ र निरज तामाङले इभनपार ७२ खेले। टिम स्पर्धामा पुरुषतर्फ तीन जनाको स्कोरलाई समावेश गरिएको छ। पहिलो दिन नेपाली टिमको कूल दुई सय आठ स्कोर छ।
पुरुष टिम स्पर्धामा बंगलादेश र श्रीलंकाको समान दुई सय १९ स्कोर छ। पुरुषतर्फ टिम स्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएको छ। एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ । पहिलो दिन मंगलबार भुटानका निम दोर्जी तामाङले सात ओभर ७९ खेलेका छन्।
यसैगरी महिला एकलमा श्रीलंकाले अग्रता लिएको छ। पहिलो दिन श्रीलंकाकी ग्रेस यातावाराले एकल अग्रता बनाइन्। ग्रेसले तीन अण्डर ६९ खेलेकी छन् । श्रीलंकाकै थुहासिनी सेल्भाथानाम आठ ओभर ८० स्कोरका साथ दोस्रो स्थानमा छिन्। ८३ खेलेकी नेपालकी कस्मिरा शाह ११ ओभर ८३ स्कोर सहित तेस्रो स्थानमा छिन्। बंगलादेशकी सोनिया अख्तर ८४ स्कोरका साथ चौथो स्थानमा छिन्।
महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडि छ । श्रीलंकन महिला टिमा ग्रेस, थुवासिनी र टिनिया मिनाल (८५ स्कोर) छन्। नेपाल र बंगलादेश दोस्रो स्थानमा छन्। नेपाली महिला टिममा कस्मिरा शाह, रबिना श्रेष्ठ र सुस्मा कोइराला छन् ।
‘स्टोक प्ले’ विधामा सञ्चालित साग गल्फ ७२ होलको हुनेछ। सहभागी टोली र खेलाडीले दैनिक १८ होलमा प्रतिस्पर्धा गर्नेछन्। साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसाबले नेपालले सागमा गल्फ खेल राखेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।