पोखरा- १३औं दक्षिण एसियाली खेलकद (साग) मा क्रिकेटको महिलातर्फ बंगलादेशले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो। टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।
श्रीलंकाको थिमासिनीले ५६ रनको पारी खेलिन्। ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकी थिइन्। क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन्। बलिङतर्फ बंगलादेशकी नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन्।
१ सय २३ रनको चुनौती प्छयाउँदै ब्याटिङ गरेको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य भेट्टाएको थियो। बंगलादेशको तर्फबाट संजिदा इस्लामले अविजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए। संजिदाले ४५ बलमा ८ चौका प्रहार गरिन् भने आयसाले २ चौका प्रहार गरेकि थिइन्। फरगंगा हकले अविजित रहँदै २३ रन बनाइन्।
प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशबीच तथा दिउँसो १ बजे श्रीलंका र मालदिभ्सबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।