बुटवल- फ्रेण्डस क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा एकेडेमी, बुटवलमा सम्पन्न प्रिक्वाटरफाइनल तर्फको खेलमा फ्रेण्डसले कास्की–११ लाई १-० गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफतर्फ २८ औं मिनटमा फ्रेण्डस्का लागि अफ्रिकी खेलाडी जोनल ग्लोरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो । खेलमा दुवैतर्फ गोलको प्रयास भए तापनि थप गोल भने हुन सकेन । खेलमा फ्रेण्डसका बरसात गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत फागुन २६ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल लाली रुपन्देही–११ र नवलपरासी–११ बीच हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए ।
१० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार तथा उपविजेताले ४ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र ३ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।