काठमाडौं- १३औं सागअन्तर्गत पुरूष फुटबलमा नेपालले भुटानलाई ४-० ले हराएको छ।
नेपालका कप्तान सुजल श्रेष्ठले २ साथै अभिषेक रिजाल र मिक्चेन तामाङले १-१ गोल गरे।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालका कप्तान सुजलले खेलको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। झन्डै चार वर्षपछि दशरथ रंगशालामा उल्लेख्य घरेलु दर्शकको हौसला नेपाली खेलाडीले पाए।
पहिलो हाफमा भुटानले केही राम्रो मुभ बनाए पनि पोस्टमा प्रहार गर्न भने सकेन। नेपालले पहिलो हाफमा केही अवसर खेर फाल्दा पहिलो हाफ १-० मा सकिएको थियो। नेपालले सुरुदेखि नै राम्रो अवसर बनाएको थियो। दोस्रो हाफको पाँचौ मिनेटमा सुजलले नै नेपालका लागि दोस्रो गोल गरे। नेपालका लागि तेस्रो गोल खेलको ६५औं मिनेटमा अभिषेक रिजालले गरे।
डिबक्स बाहिरबाट पाएको फ्री किकमार्फत सिधै गोल गर्दै ७६ औं मिनेटमा मिक्चेन तामाङले नेपालको चौथो गोल गरे। भुटानका खेलाडी खेलभर दबाबमा रहँदा केही नराम्रा फोउलहरु पनि भए। नेपालले दुईवटा र भुटानले पाँचवटा पहेँलो कार्ड पाए।
भुटानले आफ्नो पहिलो खेलमा सोमबार बंगलादेशलाई १-० ले हराएको थियो।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।