मेडिसन स्क्वायरको बेन्चमा सोपी अधीर भएर बसेको छ । अब जाडोको मौसम आयो भन्ने त्यहाँ केही संकेतहरु देखिन्छन् । चराहरु दक्षिणतिर उड्न थाले । आइमाईहरु गरम कोट किनिदेलान् भन्ने आशामा आफ्ना पतिको स्याहार गर्न थाले । अनि सोपी त्यही पार्कको बेन्चमा अधीर भएर बसेको छ । जब तपाईं यी थोकहरु देख्नुहुन्छ, तब जाडोको मौसम नजिक आएछ भन्ने बुझ्नुहुन्छ।
सोपीकै खुट्टामा एउटा पात झर्यो । जाडोको मौसम आउँदै छ भन्ने यो उसलाई विशेष सूचना हो । मेडिसन स्क्वायरको त्यो पार्कमा बस्ने गरिबहरुले सर्दीबाट बाँच्ने व्यवस्था मिलाउनुपर्छ।
सोपीले यो कुरा बुझेको छ । समय आइपुग्यो । जाडोबाट बाँच्नको निम्ति उसले केही उपाय त सोच्नैपर्छ । यसैले ऊ पार्कको बेन्चमा अधीर भएर बसेको छ।
सोपीले हिउँदमा कुनै ठूलो काम गरुँला भन्ने आशा गरेको होइन । जहाजमा चढेर टाढा देशमा जान उसले चाहेको छैन । दक्षिणतिरको गरम ठाउँमा जान पनि उसले विचार गरेको छैन । बस्, उसलाई त तीन महिला ब्ल्याकवेलको जेलमा बिताउन पाए भइगयो । तीन महिना सधैं खान पाइन्छ, सधैं सुत्न पाइन्छ, तीन महिना चिसो हुने हुरी र प्रहरीहरुबाट बाँच्न पाइन्छ । संसारमा सोपीले चिताएको यत्ति हो।
धेरै वर्षसम्म ब्ल्याकवेलको जेल उसको हिउँदको घर भएको थियो । धनीहरु हिउँदमा घुम्न टाढा-टाढासम्म जान्छन् । तर, सोपीले यही जेलामा जाने सानो योजना बनाएको छ।
अब समय आइपुग्यो । हिजो राति तीन वटा ठूला-ठूला खबरकागजहरु कुनै कोटमुनि, कुनै खुट्टामाथि राखेर सोपीले सुत्ने कोसिस गरेको थियो । तर, पार्कमा यसरी सुत्दा जाडो गएन । यसैले अब सोपीले केही त गर्नैपर्छ।
शहरमा कति ठाउँ छन्, जहाँ गएर उसले खानेकुरा माग्न सक्छ, सुत्ने ठाउँ माग्न सक्छ । उसले पाउन पनि सक्छ । घर-घरमा गएर मागेर उसले हिउँद काट्न सक्छ।
तर, सोपी स्वाभिमानी छ । ऊ ती ठाउँमा जान चाहँदैन, किनभने उनीहरुले उसलाई के-के सोध्लान्, फेरि उसलाई नुहाउन लगाउलान् । सोपीलाई यस्तो मन पर्दैन।
उसको निम्ति जेल नै राम्रो हो । जेलमा उसले भलादमीकै जीवन बिताउन सक्छ।
सोपी अब यो इच्छा पूरा गर्न अघि बढ्छ । यो इच्छा त्यसै पनि पूरा हुन सक्छ । त्यसै पनि जेल जाने काम गर्न सकिन्छ । एउटा ठूलो होटलमा जाऊ, बेस्सरी खाऊ अनि खाइसकेपछि पैसा छैन भन । बस्, पुलिस आउँछ अनि उसले टुंगोमा पुर्याइदिन्छ- जेल !
पार्क छोडेर सोपी बिस्तारै ब्रडवेतिर लाग्छ । एउटा विशाल उज्जर होटलमा ऊ पस्छ, जहाँ धनीमानी मानिसहरु भड्किला लुगा लाएर आएका छन्।
सोपीलाई लाग्छ, उसको लुगाफाटा राम्रै छ, अनुहार पनि सफै छ । अब के-के खाने उसले मनमा विचार गर्न थाल्छ अनि सम्पूर्ण खानेकुरा उसको मनमा नाच्न थाल्छ । बस्, अब टेबलमा पुग्न पाए सफलता उसकै हो।
तर, दैव कस्तो ! सोपीले होटलमा खुट्टा टेक्नेबित्तिकै ढोकेले उसको फाटेको जुत्ता देख्छ अनि खुट्टा छोपेको पाइन्ट पनि देख्छ । ढोकेले बलिया हातले सोपीलाई समातेर मुन्ट्याउँछ।
ब्रडवेबाट सोपी नाङ्गै खुट्टा फर्कन्छ । जेल जाने यो सजिलो उपाय काम लागेन । अब उसले अर्को उपाय सोच्नुपर्छ।
निकै परको मोडमा ऐना नै ऐना भएको एउटा पसल छ । बत्तीहरु झिलिमिली छन् । एउटा ढुंगा टिपेर हाने भने ती ऐनाहरु फुट्छन् । पुलिस आउँछ अनि त उसलाई पक्रेर लान्छ । सोपले त्यसै गर्छ । ढुंगा टिपेर सोझै ऐनामा हान्छ । ऐनाहरु झर्यामझुरुम् फुट्छन् । मान्छेहरु दौडँदै आउँछन् । पुलिस पनि आउँछ । सोपी चुपचाप उभिइरहन्छ।
'ऐना फोर्ने मान्छे कहाँ गयो ?' पुलिसले सोध्छ।
'मैले फोरेको भन्ने तपाईंलाई लाग्दैन ?' सोपीले भन्छ।
तर, पुलिसले सोपीमाथि शंका गर्दैन । ऐना फोर्ने मान्छे त्यसरी त्यहाँ उभिएर पुलिससँग त्यसरी कुरा गर्छ र ? त्यस्तो मान्छे त भागिहाल्छ नि ! त्यति जै बेला त्यो पुलिसले अलिकति पर एउटा मान्छे दौडँदै गएको देख्छ । त्यो पुलिस पनि त्यसकै पछि-पछि दौडन्छ । सोपी निराश भएर बिस्तारै फर्कन्छ।
सडकको पारिपट्टि उसले एउटा होटल देख्छ । ऊ होटलमा त्यही लुगा लाएर भित्र पस्यो । अहिले कसैले उसलाई रोकेन । एकैछिनमा उसले खानेकुरा धमाधम खान थाल्यो । खाइसकेपछि वेटरलाई बोलाएर उसले के भन्यो भने पैसासित उसको चिनाजानी छैन।
'पुलिस झट्ट बोलाऊ । भलादमीलाई नपर्खाऊ !' सोपी कराउँछ।
'तँलाई पुलिस चाहिँदैन !' वेटर कराउँछ । एकैछिनमा वेटरले उसलाई समातेर बाहिर यसरी मिल्काउँछ, मानौं ऊ थोत्रो चिज हो।
निकै पर पुगेर सोपी अडिन्छ । त्यस पाखामा धेरै नाचघरहरु छन्, त्यस पाखामा बाटाहरु पनि उज्याला छन्, झलमल्ल छन् । सोपीले विचार गर्छ- 'किन कुनै पनि पुलिसले उसलाई पक्रन चाहँदैन?'
एउटा ठूलो नाचघर अगाडि एउटा पुलिस उभिइरहेको हुन्छ, सोपी त्यहीँ पुग्छ । अब उसले केही उपद्रो गर्ने विचार गर्छ । अनि सोपीले मातेको बहाना गर्छ र मानेको मान्छे जस्तो कराउन थाल्छ, बाटैमा नाच्छ, उफ्रन्छ, चिच्याउँछ।
पुलिसले सोपीलाई पिठिउँ फर्काइदिन्छ र छेवैमा उभिइरहेको एक जना मान्छेलाई भन्छ- 'यो कलेज पढ्ने केटो हो । यसले कसैको बिगार गर्ने त होइन । यिनीहरुलाई नपक्रनू भन्ने हामीलाई आदेश छ।'
सोपी चुप हुन्छ । दैव नै कस्तो ! कुनै पनि पुलिसले उसलाई छुँदैन । उसले त्यो जेल सम्झन्छ, जुन अहिले स्वर्ग जत्तिकै टाढा भएको छ । उसले आफ्नो पातलो फाटेको कोट राम्ररी सम्याएर ओढ्छ । बतास धेरै चिसो छ।
अहिले उसले एउटा पसलमा एक जना मान्छेलाई केही कुरा किन्दै गरेको देख्छ । उसले छाता ढोकाकै छेउमा राखेको छ । सोपी पसलतिर बढ्छ, छाता टिप्छ र बिस्तारै हिँड्छ । त्यो मान्छे सोपीलाई पछ्याउँदै आउँछ।
'मेरो छाता !' त्यो मान्छेले भन्छ।
'अहो ! हो र ?' सोपीले भन्छ, 'पुलिस बोलाउँदैनौ ? मैले लगेँ तिम्रो छाता । पुलिस किन बोलाउँदैनौ ?'
त्यो मान्छे बिस्तारै-बिस्तारै हिँड्छ, सोपीले पनि त्यसै गर्छ।
'म… …' त्यस मान्छेले भन्छ, 'यस्तै हुन्छ, म… … अहो ! यदि यो तपाईंको छाता हो भने लानुहोस् । आजै बिहान मैले यो छाता एउटा होटलबाट उठाएर ल्याएको हुँ।'
'अँ, यो मेरो हो !' रिसले स्वर तिखो पारेर सोपी कराउँछ । छाता छोडेर त्यो मान्छे छिटो-छिटो हिँड्छ । सोपी पूर्वतिर लाग्छ । सोपीले छाता रिसले एउटा खाडलमा फ्याँक्छ।
सोपी शहरको पूर्वतिरको शान्त बाटामा आइपुग्छ । यहाँबाट ऊ घुमेर आफू बसेको पार्कतिर जान्छ । ऊ अहिले घर जाँदै छ । उसको घर कहाँ छ र ! त्यही पार्कको बेन्च नै हो उसको घर।
एउटा सुनसान ठाउँमा आएर सोपी अडिन्छ । यहाँ एउटा पुरानो गिर्जाघर छ । झ्यालका रंगीन ऐनाबाट मन्द प्रकाश आइरहेको छ । त्यस गिर्जाघरबाट आएको मीठो संगीतको धुन सोपीका कानमा पर्छ र अहिले उसलाई मानौं त्यही संगीतले समातेको छ।
सोपीको मन बदलियो । उसको आत्मामा एउटा अचानक र अचम्मको परिवर्तन आयो । ऊ कति तल झरेको रहेछ, अहिले त्यो सम्झेर ऊ डरायो । उसले आफूले व्यर्थमा बिताएका दिनहरु सम्झियो । अधम विचार, मरेको आशा सबै सम्झियो।
अनि एक क्षणमै उसको हृदयले नयाँ आशा देख्यो । अब उसले आफ्नो जीवन सुधार्ने विचार गर्यो । यो दलदलबाट माथि निस्किने निधो गर्यो । फेरि राम्रो मान्छे बन्ने उसले अठोट गर्यो।
अझै पनि समय छ । ऊ जवानै छ । जीवनको पहिलेको उद्देश्य र बाटो उसले खोज्नेछ र त्यसलाई पछ्याउनेछ । त्यो मधुर संगीतले उसको हृदयमा उथलपुथल ल्यायो । भोलि उसले नोकरी खोज्नेछ । एकपल्ट एउटा मान्छेले उसलाई काम दिएको थियो । भोलि त्यही मान्छेलाई ऊ खोज्नेछ । संसारमा ऊ राम्रो मान्छे हुनेछ । अब ऊ … … … ।
सोपीलाई कसैले आफ्नो पाखुरामा समाएको जस्तो लाग्यो । फनक्क फर्केर हेर्दा उसले ठूलो अनुहार भएको पुलिस देख्यो।
'यहाँ के गर्दै छस् ?' पुलिसले सोध्यो।
'केही पनि गरेको छैन', सोपीले भन्यो।
सोपीले पुलिससँग तर्क गर्यो, सम्झाउने कोसिस गर्यो । तर, अमेरिकाको पुलिससँग तर्क गरेर साध्य छ र?
'हिँड् !' पुलिसले भन्यो।
भोलिपल्ट बिहान न्यायाधीशले सोपीलाई फैसला सुनायो- 'तीन महिना जेल।'
अनुवाद: राजनारायण प्रधान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।