सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र रुकुमबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार जाजरकोटलाई पराजित गर्दै रुकुमले फाइनलमा सुर्खेतसँगको भेट पक्का गरेको हो।
सुर्खेत यसअिघ नै समूह चरणका सबै खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ। समूह चरणको अन्तिम खेलमा सुर्खेतले रुकुमलाई नै २९ रनले पराजित गरेको थियो। उपाधिका लागि यी २ टिमबीच प्रतिस्पर्धा हुने भएको हो ।
शुक्रबार समूह चरणको अन्तिम खेलमा रुकुमले जाजरकोटलाई १५ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रूकुमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४६ रन बनायो। एक सय ४७ रनको लक्ष्य पछ्याएको जाजरकोट एक सय ३१ रनमै समेटिएपछि रुकुम विजयी भएको हो। पाँच मध्ये तीन खेलमा जित निकालेको रुकुमले रनरेटमा सल्यानलाई पछि पार्दै फाइनल पुगेको हो। रुकुम र सल्यानको समान ६ अंक भएपछि रनरेटमा भने सल्यान पछि परेको थियो।
दैलेख र जुम्ला भने यसअघि नै उपाधि होडबाट बाहिरिसकेको थिए। सुर्खेत जिल्ला क्रिकेट संघले पहिलो पटक आयोजना गरेको कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको थियो । फाइनल खेल भोली(शनिवार) विहान १० बजे वीरेन्द्रनगरस्थित कालुंचौक मैदानमा हुने सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।