टेक्सास- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।
अमेरिका भ्रमणका क्रममा टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रियामा अध्यक्ष थापाले ६० लाख नेपाली नागरिकलाई मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण हुने बताए। प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उनले उल्लेख गरे।
अध्यक्ष थापाले तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दु:खद भएको बताए। अध्यक्ष थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अविभाज्य क्षेत्र रहेकोमा जोड दिँदै आम नेपालीको ऐक्यबद्धता, राजनीतिक दलको एकमत र प्रवासमा रहेका नेपालीको दबाबमा पनि नेपाल सरकारले सीमा अतिक्रमणबारे भारत सरकारसंग वार्ता गरी समस्याको समाधान गर्न ढिलाइ गरिरहेकोमा आश्चरेय व्यक्त गरे।
सीमासम्बन्धि समस्यामा राजा महेन्द्रलाई विवादमा तानिएको तर्फ संकेत गर्दै अध्यक्ष थापाले भारतीय पक्षलाई बलियो बनाउने र नेपालको तर्कलाई कमजोर बनाउने काम स्वयं नेपाली पक्षबाट भइरहेकोले कसैलाई दोष लगाउने चालबाजी नगर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।