काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित भएपछि नेपालको सुपरसिक्स यात्रा कठिन बनेको छ। पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले हारेको नेपाललाई बिहीबार भएको दोस्रो खेलमा स्कटल्यान्डले ४ विकेटले हरायो।
समूह 'बी' मा रहेको नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङ प्रतिस्पर्धा गर्नेछ। दुवै खेलमा जित हात पारे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना छ। सुपरसिक्स समूहका शीर्ष ३ टिम पुग्नेछन्।
लगातार दुई खेलमा पराजित भएपनि सुपरसिक्समा पुग्ने सम्भावना रहेको नेपालका कप्तान पारस खड्काले बताएका छन्। 'हामीले दुई खेल खेल्न बाँकी छ। अझै पनि अंक तालिका खुला छ,' पारसले आइसिसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्,'बाँकी दुई खेल जित्यौ भने सुपरसिक्समा पुग्न सक्छौं।'
उनले स्कटल्यान्ड विरुद्धको खेलमा ब्याटिङमा चुक्दा हार बेहोरेको बताए। 'राम्रो ब्याटिङ गर्न सकेनौं । तर पनि १ सय ४९ रन जोड्यौ,' पारसले भनेका छन्,'यदि हामीले सुरुवातमा विकेट लिन सकेको भए खेलको परिस्थिति अर्कै हुन्थ्यो। अन्तिमसम्म प्रयास गर्यौं। दुर्भाग्यबस हामीले चाहिएको जती रन बनाउन नसक्दा हार्यौं।'
स्कटल्यान्ड विरुद्ध नेपाली स्पिनरले राम्रो बलिङ गर्दै अन्तिमसम्म दबाब दिएको भन्दै उनले प्रसंशा समेत गरे।
खेलमा पारसले नेपालका लागि सबैभन्दा बढी ६३ रन जोडेका थिए भने 'लिस्ट ए'को खेलमा एक हजार रन पूरा गरेका थिए। आफ्नो इनिङबारे उनले सधैं झैं राम्रो खेल्ने प्रयास गरेको प्रतिक्रिया दिए। 'सकेसम्म धेरै रन बटुल्न केन्द्रित थिए। नेपाललाई मजबुत बनाउने प्रयार गरे,' उनले भने।
लगातार ३ खेलमा जित निकालेको स्टकल्यान्ड भने सुपरसिक्समा पुगेको छ। स्कटल्यान्डका कप्तान केल कोइटजरले उत्कृष्ट बलिङका कारण नेपाल विरुद्ध जित सम्भव भएको बताए। 'विटिङ्घमले सुरुवाती तीन महत्वपूर्ण विकेट लिन सफल भए। तर नेपालका कप्तानले इनिङलाई केहि गति दिए। यद्यपी हामीले राम्रो बलिङ गरेर नेपाललाई सस्तैमा समेट्न सफल भयौं। हामीले ब्याटिङ पनि राम्रो गर्यौं।तीनै खेल जितेर सुपरसिक्समा पुग्दा खुसी छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।