काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह 'बी' मा लगातार ३ खेलमा जित निकाल्दै स्कटल्यान्ड सुपर ६ मा पुगेको छ। स्कटल्यान्डले बिहीबार भएको खेलमा नेपाललाई ४ विकेटले पराजित गर्यो। स्कटल्यान्डले यसअघि हङकङ र अफगानिस्तानलाई हराएको थियो।
बिहीबारको अर्को खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले पराजित गर्यो। प्रतियोगितामा अफगानिस्तानको यो लगातार तेस्रो हार हो। यसअघि अफगानिस्तानलाई स्कटल्यान्ड र जिम्बावेले पराजित गरेका थिए। हारसँगै अफगानिस्तानको विश्वकप खेल्ने अभियान कठिन बनेको छ।
लगातार तीन खेल जितेको स्टकल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको जिम्बावेले ४ अंक जोडेको छ। तेस्रो स्थानको हङकङले २ अंक जोडेको छ भने नेपाल र अफगानिस्तानले अंक जोड्न सकेका छैनन्।
अब समूहमा जिम्बावे, नेपाल र हङकङले २–२ खेल खेल्न बाँकी छ। अफगानिस्तानले १ खेल खेल्न बाँकी छ। जिम्बावेले १ खेल जिते सुपर सिक्समा स्थान पक्का गर्नेछ। नेपाल र हङकङ मध्ये दुवै खेल जित्ने मध्ये १ टिम सुपर सिक्समा पुग्नेछन्।
नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। हङकङले नेपालसँग खेल्नुअघि जिम्बावेसँग भिड्नेछ।
नेपालसँग पराजित भएमा टेस्ट मान्यता प्राप्त टिम अफगानिस्तान भने बाहिरिनेछ। नेपाललाई पराजित गरे अफगानिस्तानको आसा बाँकी रहनेछ। त्यसका लागि अफगानिस्तानले नेपाललाई हराएर मात्र पुग्दैन हङकङको २ खेलमा हारको कामना गर्नु पर्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।