बुटवल– तिलोत्तमा गोल्डकपको २०औं संस्करण बिहीबारदेखि सुरु भएको छ।
उद्घाटन दिनको खेलमा पाहुना टोली सुदूरपश्चिम ११ लाई २–० गोल अन्तरले हराउँदै आयोजक रुपन्देही ११ ले सुखद सुरुवात गरेको छ। जितसँगै आयोजक रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आयोजक रुपन्देहीका लागि दुवै गोल निशान लिम्बूले गरे।
सुदूरपश्चिमका कप्तान राकेश हमालले निशानलाई लडाएपछि रुपन्देही ११ ले पेनाल्टीको मौका पाएको थियो। त्यसलाई सदुपयोग गर्दै निशानले सातौं मिनेटमा पहिलो गोल गरे। पहिलो हाफमा १–० को अग्रता लिएको रुपन्देही ११ दोस्रो हाफमा पनि हावी भयो।
दोस्रो हाफको ४२औं मिनेटमा रुपन्देही ११ का अशोक थापाको पासमा निशानले दोस्रो गोल गरे।
प्रतियोगिताको दोस्रो खेल शुक्रबार कास्की ११ र फ्रेन्ड्स क्लब काठमाडौंबीच दिउँसो २ बजे हुने आयोजक रुपन्देही फुटबल संघले जनाएको छ।
प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ क्लब र त्रिभुवन आर्मीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित स्वर्ण पदक प्राप्त गर्नेछ भने उपविजेता टिमले चार लाख ४४ हजार ४ सय ४४ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिता चैत ३ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।