काठमाडौं– मिर्नेभा पञ्जावले भारतको पहिलो डिभिजनको लिग आइ–लिगको उपाधि जितेको छ। बिहीबार अन्तिम दिनको खेलमा पञ्जावले चर्चिल ब्रदर्शलाई १–० गोलले पराजित गर्दै पहिलो पटक आइ– लिगको उपाधि जितेको हो। पञ्जावको जितमा आइसेडुले १५ मिनेटमा गोल गरेका थिए।
अन्तिम खेलमा नेपालका पहिलो रोजाइका गोलकिपर किरण चेमजोङ प्लेइङ सेटमा थिए। खेलमा किरणले ४१ मिनेटमा चर्चिलका खेलाडीको प्रहारलाई विफल पारेका थिए।
लिगमा पञ्जावले १८ खेलबाट ३५ अंक जोड्यो। दोस्रो स्थानको नेरोकाले ३२ अंक मात्र जोड्न सफल भयो। अन्तिम दिन नेरोका इस्ट बंगालसँग १–१ गोलको बराबरीमा रोकियो।
नेपालका युवा फरवार्ड विमल घर्तिमगर आवद्ध मोहन बगान भने तेस्रो बन्यो। उसले ३१ अंक बटुल्यो। मोहन बगान अन्तिम दिन गोकुलमसँग १–१ गोलको बराबरीमा रोकियो।
लिगमा इस्ट बंगाल चौथो भयो। मोहन बगानसँग समान ३१ अंक भएपनि बंगाल गोलअन्तरमा पछि पर्यो।
किरण गत महिना पञ्जावमा आवद्ध भएका थिए। गत सिजन माल्दिभ्सको टिसी स्पोर्ट्सबाट लिग खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। टिसी स्पोर्ट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा गत सिजन दोस्रो स्थान हात पारेको थियो। २७ वर्षीय किरणले त्यसअघि सन् २०१६ मा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए।
किरण आवद्धभए लगत्तै विमलले मोहन बगानसँग अनुबन्धन गरेका थिए। मोहन बगानमा २० वर्षपछि नेपाली खेलाडी आबद्ध भएका हुन्। उनले आकर्षक पारिश्रमिक पाउने भए पनि रकम खुलाइएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।