सप्तरी- प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगर्ने सम्बन्धित निकाय कारबाहीमा पर्ने बताएका छन्।
मन्त्री सोनलले राजविराजमा पत्रकारसँग कुरा गर्दै तराई–मधेसमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताए। विकास निर्माणका दृष्टिले प्रदेश २ निकै पछाडि रहेको भन्दै मन्त्री सोनलले तीव्ररुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। राष्ट्रिय जनता पार्टीका संसदीय दलका नेता समेत रहेका मन्त्री सोनलले केन्द्रीय योजनामा समेत मनपरी ढंगले काम गर्ने छुट कसैलाई नहुने स्पष्ट पारे।
मन्त्री सोनलले केन्द्रीय सरकारको विकास निर्माणको कामलाई निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताउँदै निर्माणसम्बन्धी काम समयमा पूरा नहुनाको मुख्य कारण निर्माण कम्पनीले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गरे।
मुख्यमन्त्रीको कार्यालय लगायत सम्पूर्ण मन्त्रालयमा सूचना डेस्क राखी गतिविधिलाई पारदर्शी बनाउन लागिएको मन्त्री सोनलले जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।