काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपालले ५० रन कटाएको छ। १४औं ओभरमा ५० रन कटाउँदै गर्दा नेपालले पाँच विकेट गुमाइसकेको छ। नेपालले पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाएको थियो।
ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमै आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। नाथलाई विटिङ्घमले एलबिडब्लुको धरापमा पारेका हुन्। यस्तै, दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै शरद भेषावकरलाई पनि विटिङ्घमले बोल्ड गरे।
यसैगरी, आठौं ओभरको अन्तिम बलमा आरिफ शेख पनि पभेलियन फर्कए। २ रन मात्र जोडेका आरिफ वेरिङ्टनको बलमा क्याच आउट भए। आरिफ आउट हुँदा नेपालको स्कोर ३९ रन मात्र थियो।अहिले पारस खड्का र सोमपाल कामीले ब्याटिङ गरिरहेका छन्। तेस्रो नम्बरमा आएका पारसले सम्हालिएर ब्याटिङ गरिरहेका छन्। खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स पार्कमा भइरहेको हो।
प्रतियोगितामा नेपालले दोस्रो खेल खेलिरहेको छ। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डले भने तेस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।