काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गरेका छन्। पारसले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा एक हजार रन पूरा गरेका हुन्। उनी 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने।
स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले 'लिस्ट ए' का ३० खेल खेलेका छन्। जसमा उनले २ शतक र ६ अर्धशतक प्रहार गरेका छन्। सन् २०१४ मा उनले यूएई विरुद्ध पहिलो लिस्ट एको खेल खेलेका थिए।
गत महिना भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा पारसले यूएई विरुद्ध शतक प्रहार गरेका थिए। खेलमा उनले प्रहार गरेको नटआउट १ सय १२ रन उनको लिस्ट एको उच्च स्कोर हो। त्यसअघि उनले नामिबिया विरुद्ध पनि शतक हानेका थिए। उनी लिस्ट ए' को खेलमा २ अर्धशतक हान्ने पहिलो नेपाली खेालडी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा भने पारसले ३ शतक प्रहार गरेका छन्।
पारसले लिस्ट एको खेलमा १७ विकेट पनि लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।