बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन्।
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई देशलाई वार्तामा बस्न आग्रह गरेका हुन्। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने, 'यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ।'
विदेशमन्त्री यीले यसअघि पनि अमेरिका र उत्तर कोरियालाई वार्ता गर्न आग्रह गर्दै आएका थिए। उनले उत्तर कोरियाको परमाणुअस्त्रबारे पनि दुई देशले वार्ता गरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका छन्।
दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ। त्यसैले उनको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
हालै मात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुईजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिकाका प्रस्थान गरेका हुन्।
उनीहरुले अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङ्याङ् भ्रमणबारे छलफल गर्नेछन्। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।