डडेल्धुरा- लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बैतडीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको छ। पुर्चौंडी नगरपालिका– ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो।
शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्बर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताए। उनले भने, ‘बोक्सी भन्दै शुक्रबार दिदीमाथि अभद्र व्यवहार गरिएछ। शनिबार त दिदीमाथि कुटपिट नै भयो।’
उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर दिदीमाथि कुटपिट भएको महराले बताए। बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि शनिबार राति नै जिल्ला अस्पताल बैतडी पु¥याइएको छ।
उत्तरामाथि कुटपिट भएको पुर्चौंडी नगरपालिका– ९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टि गरे। उनले भने, ‘उत्तरामाथि कुटपिट भएको भन्ने कुरा सुनेपछि म गाउँमै पुगेको छु। उनीमाथि कुटपिट भएको छ। के कारणले कुटपिट गरियो भन्नेबारे सोधीखोजी गरिरहेको छु।’
एकल महिला उत्तरामाथि बोक्सीको आरोपमा कुटपिट गरिएकाले आफू दिदीको उपचारकै लागि धनगढीबाट बैतडी पुगेको शेरबहादुर महराले बताए। उनले भने, ‘अहिले दिदीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। कुटपिट गर्नेहरुको नाममा मुद्दा दिने तयारी गरिरहेको छु।’
बोक्सीको आरोपमा महिलामाथि कुटपिट भयो भन्ने खबर आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनले शनिबार साँझ खबर पाएको बताए। उनले भने, ‘घाइतेको उपचार गराउन भनेको छु। बोक्सीको आरोपमा अथवा अरु कुनै हिसाबले कुटपिट गरिएको रहेछ भने कुटपिट गर्नेमाथि कानुनअनुसार कारबाही हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।