जनकपुर-
‘आजु जनकपुर मे मडवा हो
बड सुहागन लागे....
सीता के चढेला हरदीया
मनभावन लागे...’ (आज जनकपुरमा विवाहको लगन भएकोले निकै रमाइलो भइरहेकाे छ)।
यस्तै लोकगीतले प्रत्येक वर्ष जनकपुरमा मनाइँने रामजानकी विवाहपञ्चमी महोत्सवको रौनक यतिबेला जनकपुरमा देखिएको छ। मिथिलाञ्चलको वैवाहिक परम्परालाई जिवीत राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको महोत्सवलाई नेपाल–भारतबीचको सांस्कृतिकसम्बन्धको रुपमा पनि लिइन्छ।
मंसिर १० गतेदेखि सुरु भएको साता व्यापी महोत्सवमा ११ गते फूलवारी लिला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयम्बर र शुभविवाह र १६ गते राम कलेवासँगै विवाहपञ्चमी सम्पन्न हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट ठूलो संख्यामा साधुसन्तहरू जनकपुर आएका छन्।
राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि मिथिलाको राजधानी जनकपुरधाममा वर्सेनी मार्ग शुक्ल पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेलाको आयोजना हुने गर्दछ।
वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्ग शुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधुसन्तहरूसहितकाे जन्तीलाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ। यस पटक राष्ट्रपति विद्यादेवी भण्डारीले जन्तीको स्वागत गरेकी थिइन्।
विवाहमहोत्सवको अवसरमा पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ। अहिले रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत तेस्राे मुलुकका भक्तजनहरुको जनकपुरमा भिड लागेको छ।
महोत्सवलाई व्यवस्थित बनाउन तीन दिनसम्म माछामासु तथा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको छ। विवाहपञ्चमीको गतिविधि सिसिटिभीबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश २ सरकारले प्रदेशमा आज सार्वजनिक विदा समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।