काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि स्कटल्यान्डसँग खेल्दैछ।
पहिलो खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले १ सय १६ रनले पराजित गरेको थियो। यता प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको स्कटल्यान्डले सुरुवाती २ खेलमा जित हात पारेको छ। स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङमाथि ६ विकेटको जित निकाल्यो।
टेस्ट टिमसँग पहिलो पटक खेलेको नेपालले जिम्बावे विरुद्धको हारलाई स्वभाविक रुपमा लिएको छ। बलिङमा दबाब झेलेको नेपालले जिम्बावे विरुद्ध राम्रो ब्याटिङ गरेको प्रशिक्षक जगत टमाटा बताउँछन्। 'पहिलो पटक टेस्ट मान्यता प्राप्त टिमसँग खेल्दा हामीलाई राम्रो अनुभव मिलेको छ' टमाटाले जिम्बावेबाट नेपाल लाइभसँग भने।
दोस्रो खेलमा उच्च फर्ममा रहेको स्कटल्यान्डसँग भिड्न लागेको नेपालमाथि कुनै दबाब नभएको टमाटा बताउँछन्। 'कुनै दबाब छैन। राम्रो क्रिकेट खेल्नमा केन्द्रित छौं। यो स्तरमा हामीले बलिङ, ब्याटिङ र फिल्लिङमा राम्रो गर्नु पर्छ। एक पक्षमा मात्र राम्रो गरेर हुँदैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।