काठमाडौं–आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा बलियो मानिएको अफगानिस्तान सुरुवाती २ खेलमा पराजित भएपछि दबाब परेको छ। समूह 'बी' अन्तर्गतको खेलमा अफगानिस्तान पहिलो खेलमा स्कटल्यान्ड तथा दोस्रो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको थियो।
सुरुवाती २ खेलमा पराजित भएपछि सुपरसिक्स यात्रा कठिन बनेको अफगानिस्तानका कप्तान रसिद खानले अबका सबै खेल फाइनल सरह भएको प्रतिक्रिया दिएका छन्। 'हामीले सुरुवाती महत्वपूर्ण २ खेल गुमायौं,' खानले आइसिसीलाई प्रतिक्रिया दिँदै भने,'तर अझै सुपरसिक्समा पुग्ने सम्भावना बाँकी छ। अब हामी सवै खेललाई फाइनल सरह लिन्छौं।'
खानले नेपाल र हङकङ विरुद्धको खेलमा उत्कृष्ट खेल्नु पर्ने बताए। 'हामीले बितेका कुरा सोच्नु हुन्न। पुनरागमन गर्नुपर्छ। हङकङ र नेपाल विरुद्ध राम्रो खेल्दै हामी अघिल्लो चरणमा पुग्ने कोसिस गर्छौं,' खानले भने,'हाम्रो टिम सबै टिमलाई पराजित गर्न सक्षम छ। तर हार-जित खेलको पाटो हो। कहिलेकाँही राम्रो खेल्दा पनि आफ्नो पक्षमा नजिता आउँदैन। तर पनि हामी पुनरागमन गर्न साधारण क्रिकेट खेल्ने कोसिस गर्छौं।'
छनोट प्रतियोगिता अन्तर्गत आफगानिस्तानले भोलि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। भोलि नै नेपालले स्कटल्यान्डसँग भिड्नेछ। नेपाल र अफगानिस्तानबीच भने शनिबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।