रोल्पा- शनिबार सम्पन्न थबाङ गाउँपालिका-१ को वडाध्यक्षका लागि भएको मतदानमा अत्यन्त कम मत खसेको छ। शान्तपूर्ण रुपमा सम्पन्न भएको वडाअध्यक्षका लागि भएको मतदानमा २ सय ९ जनाले मात्रै मतदान गरेका हुन्। सो वडामा १ हजार २ सय ८८ मतदाता छन्। यो कुल मतादाताको १६ प्रतिशत मात्र हो।
वडाका १ सय १२ पुरुष र ९७ महिलाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए। निर्वाचनमा नेपाली कांग्रेसका कलम रोका मगर र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनक बुढा मगरले प्रतिस्पर्धा गरेका थिए।
२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नं. १ बाट स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढा, नेकपा माओवादी केन्द्रबाट ग्रिस पुन र नेकपा एमालेबाट तीर पुनले प्रतिस्पर्धा गरेको थिए। उक्त प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार फर्कवहादुर बुढाले ३ सय ५९ मत प्राप्त गरी विजयी भए।
वडाध्यक्ष फर्कवहादुर बुढाको २०७६ आषाढ ६ गते मस्तिष्कघातका कारण मृत्यु भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने सो वडाको निर्वाचनलाई सुरक्षा दृष्टिकोणले अतिसंवेदनशील मानिएको थियो। देशका अन्य मतदान केन्द्रहरुमा बम विस्फोटका खबर आइरहँदा थबाङमा भने मतदान अवधि शान्तिपूर्ण रह्यो। रोल्पा प्रहरीले कुनै पनि अप्रिय घटना नभएको बताएको छ।
सुरक्षा संवेदनशीलता कारण नपाली सेना, सशस्त्र प्रहरी वल र जनपद प्रहरीका ६०/६० जना परिचालन गरिएको थियो।
नेपाली कांग्रेका एक कार्यकर्ताका अनुसार मतदानमा विप्लव निकट स्थानीय नेता कार्यकर्ताहरु मतदानस्थल नजिक आएका थिए तर मतदान भने गरेनन्।
वडाध्यक्षका लागि भएको निर्वाचनमा न्यून मत खसेको सो वडाका सबै सदस्यले यसअघि नै राजीनामा दिइसकेका छन्। राजीनामा दिएका वडा सदस्य भद्रकुमार झाँक्रीको गाउँपालिका अध्यक्षले राजीनामा स्वीकृत गरिसकेका छन भने सदस्यहरुमा जीतकुमारी विक र रामपुरी बुढाले दिएको राजीनामा भने स्वीकृत भएको छैन। अर्का वडा सदस्य लकप बुढाले निर्वाचन पश्चात् सपथ ग्रहणसमेत नलिएर अनुपस्थित भएपछि गाउँकार्यपालिकाले निलम्बन गरिसकेको छ।
रोल्पा जिल्लामै पहिलो पटक वि.सं.२०१३ सालमा कम्युनिस्ट पार्टीको विजारोपण भएको थबाङमा हरेक निर्वाचन असमान्य हुँदै आएका छन्। २०३८ सालको पञ्चायती निर्वाचन पहिलो पटक बहिष्कार गरेको थबाङले बहुदल प्राप्तीपछिका निर्वाचन समेत बहिष्कार गरेको थियो।
२०५२ साल फाल्गुन १ गतेपछि निरन्तर निर्वाचन बहिष्कार गर्दै आएको थबाङले माओवादी शान्ति प्रक्रियापछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन संविधानसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाललाई सबै भोट दिएको थियो।
२०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा भने शून्य मतदान गरेको थबाङले संविधान सभाबाट संविधान घोषणापछि भएको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा भने थबाङको मत विभाजित भएको थियो।
साविक थबाङ गाविसलाई हालको थबाङ गाउँपालिका अन्तर्गत २ वटा वडामा विभाजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।