अर्घाखाँची- गत बुधबार (११ मंसिर) अर्घाखाँचीको नरपानी नजिकै बस दुर्घटनामा पर्यो। सदरमुकाम सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा १९ जनाको ज्यान गयो। १८ जना यात्रु घाइते भए। घाइतेको बुटवल, भैरहवा तथा काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
दसैंताकामा पनि सोही सडक खण्डमा पर्ने सन्धिखर्क नगरपालिका-६ मा जिप दुर्घटना भएको थियो। सो दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए। कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्कतर्फ आउँदै लु १ ज ४३२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
यी त भए सो सडक खण्डमा दुर्घटना भएका प्रतिनिधि घटना। वि.स.२०६८ यता सो सडक खण्डमा क्षेत्रमा पटकपटक सवारी दुर्घटना हुँदै आएका छन्। २०६८ पछि गोरुसिङ्गे-सिन्धीखर्क सडक खण्डमा भएका सवारी दुर्घटनामा परी १ सय २९ जनाले ज्यान गुमाएका छन्।
प्रहरीको तथ्यांकअनुसार २०६८ मा २१ जना, २०६९ मा १२ र २०७० मा १७ जना यात्रुले दुर्घटनामा ज्यान गुमाएका छन्। त्यस्तै २०७१ मा ३१ र २०७२ मा ११ जनाको मृत्यु यही सडक खण्डमा भएका दुर्घटनामा परी भएको छ।
त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा यो सडक खण्डमा तीन वटा सवारी दुर्घटना भए। ती दुर्घटनामा दुई जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए। आव २०७४/०७५ मा ७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भयो भने १४ जना घाइते भए। गत २०७५/०७६ मा भएका ७ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो भने ३८ जना घाइते भए।
यसै आर्थिक वर्षमा भएका २ दुर्घटनामा परी २१ जनाको मृत्यु भइसकेको छ। विगत ६ महिनायता यही सडकखण्डमा भएका दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगिसेकेको छ।

पटक पटक दुर्घटनाको कारण के?
गोरुसिङ्गे-सन्धिखर्क सडक खण्डको नरपानीमा पटक दुर्घटना हुँदै आएको छ। साँघुरो सडकका कारण सवारी दुर्घटना हुने गरेको सरोकारवालाको भनाई छ। गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सहज तरिकाले दुई वटा सवारी पनि ओहरदोहर मिल्दैन। बाटो साँघुरो हुनुका साथै र घुम्तीका कारण यो सडक खण्डमा सवारी दुर्घटना बढेको प्रहरीको भनाई छ।
'सवारी दुर्घटना भएको सडक क्षेत्र यति साँघुरो छ कि, राम्रोसँग गाडी घुमाउन पनि मिल्दैन,' प्रहरी चौकी नरपानीका इन्चार्ज सूर्यप्रसाद पन्थीले भने, 'घुम्तीमा गाडी मोड्न स्टेरिङ घुमाएपनि स्टेरिङ घुमाउने टाईरेटले काम नगरेका कारण गाडी घुम्तीमा नमोडिएर सिधै भीरतिर खस्न सक्ने संभावना बढी छ।'
यो सडकको चौडाइ औसतमा साढे १० फिट मात्र छ। यति साँघुरो सडकमा दुईतर्फी गाडी चल्नु त परेकै कुरा, एकतर्फी रुपमा कुदाउन पनि कठिन छ। नरपानी प्रहरी चौकीका इन्चार्ज पन्थीले भने, 'सडक जोखिमपूर्ण छ, त्यसैमाथि थोरै मात्र पनि प्राविधिक कमजोरी भए दुर्घटना हुन बेर लाग्दैन।’
३९ वर्षदेखि उस्तै सडक
गोरुसिङ्गे-सन्धिखर्क सडक ३९ वर्ष अगाडि बनेको सडक हो। २०३७ सालमा मानिसले खनेर बनाएको सडक हो यो। अर्घाखाँची र गुल्मीको पश्चिम भेगको मानिसहरु ओहरदोहर गर्ने सडक ४ दशक हुँदासम्म पनि स्तरोन्नति भएको छैन। सडकको यही दुरवस्थाका कारण यो सडकमा पटकपटक दुर्घटना हुने गरेको छ। तर पनि सडक स्तरोन्नतिका लागि कसैको ध्यान पुग्न सकेको छैन।
६८ किलोमिटर लामो सडकमा मुस्किलले गाडी ओहोरदोहोर गर्छन्। तत्कालीन पर्यटनमन्त्री ढुण्डीराज शास्त्रीका पालामा बनेको यो सडक फराकिलो बनाउन ३९ वर्षसम्म परेका योजनाले काम गरेन।
जनप्रतिनिधिको बेवास्ता
जिल्लामा पुग्ने मुख्य मार्ग फराकिलो बनाउन जिल्लाकै जनप्रतिनिधिले समेत वास्ता गरेनन्। अर्घाखाँचीबाट राजनीति गरेका नेकपा र नेपाली कांग्रेसका नेताहरु पटकपटक सरकारमा गए, मन्त्री पनि भए। तर, सडक फराकिलो बनाउने तर्फ उनीहरूको ध्यान अहिलेसम्म जान सकेको छैन।
अर्घाखाँचीबाट मानबहादुर विक, पुष्पा भुसाल, टोपबहादुर रायमाझी पटकपटक सरकारमा सहभागी भएका नेताहरू हुन्। त्यस्तै चन्द्रबहादुर खड्का उज्ज्वल, चेतनारायण आचार्य, रामजी घिमिरे, निर्मला क्षेत्री, जाल्पा भुसाललगायतका नेता पनि शक्तिमा पुगे। तर पनि यो सडकको स्तरोन्नतिमा ध्यान दिएनन्। जसका कारण सडकको दुरवस्था उस्तै रहेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन्।
२०६४ सालयता सबैभन्दा धेरैपटक सत्तामा पुगेका टोपबहादुर रायमाझी उपप्रधानमन्त्रीसम्म भए। २०७४ सालमा भएको निर्वाचनमा सबैजसो राजनीतिक दलले सडक स्तरोन्नति गर्ने नारा बनाए। तर, विकासका एजेन्डा उठाएर चुनाव जित्ने उनीहरुले सडक फराकिलो पार्ने बारे पहल गरेका छैनन्।

सन्धिखर्क नगरपालिका-६ का वडा अध्यक्ष कृष्णबहादुर आर्चायले साँघुरो बाटो, अप्ठ्यारो मोड र चालकको लापरबाहीका कारण नरपानीमा पटकपटक सवारी दुर्घटना हुने गरेको बताए। 'साँघुरो सडक र अप्ठ्यारो मोडका कारण सवारी दुर्घटना बढे पनि सडक स्तरोन्नतिमा यहाँका माननीयहरूको कहिल्यै पुगेन,' वडा अध्यक्ष आर्चायले भने, 'माननीयहरु २ करोडको पजेरो, ६०/७० लाखका स्कोर्पियोमा यही बाटो भएर कुद्नु हन्छ तर, बाटो स्तरोन्नति गर्नु पर्यो भनेर कहिल्यै उठाउनु भएन।'
'दुर्घटना न्यूनीकरणका लागि कुनै पहल नगर्ने नेता तथा सांसदहरु दुर्घटना भएपछि भने समवेदना निकाल्न भने हतार गर्छन्,' आर्चायले भने, 'यी नेताहरुको घैंटोमा कहिले घाम लाग्ने होला।'
अर्घाखाँचीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने ३ जना सांसद् छन्। प्रदेशसभामा ५ जना सांसद् छन्। तर, दुर्घटना भएका दिन सबैजसो माननीयहरू जिल्लाको चुनावी प्रचारप्रसारमा भएपनि घटनास्थलमा एक जनाले मुख नदेखाएको वडाध्यक्ष आचार्यको गुनासो छ।
पछिल्लो ६ महिनामा नरपानीमा सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका छन्। २५ जना पूर्ण रुपमा अशक्त छन्। घाइतेमध्ये अधिकांश अस्पतालका भेन्टिलेटर र आईसियूमा छन्। ६ महिनाको अवधिमा यति धेरैले ज्यान गुमाउँदासम्म पनि विकास र समृद्धिको नारा दिएर नथाक्ने सांसदले सडक विस्तारका लागि कुनै पहल नगरेको सन्धिखर्कका स्थानीयको गुनासो छ।
'दुर्घटना न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले कुनै पहल गरेका छैनन्,' स्थानीय अम्बिका श्रेष्ठले भनिन्। दुर्घटना भएपछि २/४ दिन दुर्घटना न्यूनीकरण तथा सडकका विषयमा आवाज उठ्छ, मन्त्री, सांसद तथा नेताहरुले सद्धाञ्जली सभा, शोक सभा गर्न तँछाडमछाड गर्दछन्, केही समयपछि सबै कुरा हराउँछन्,' श्रेष्ठले भनिन्।
प्रदेश ५ प्रदेशसभा सांसद् निर्मला क्षेत्रीले गोरुसिङ्गे-अर्घाखाँची सडकका विषयमा आफूहरूले गम्भीर भएर पहल गर्न नसकेको स्वीकार गरिन्। उनले भनिन्, 'सडकको स्तरोन्नतिमा राजनीतिक दलका अगुवाहरूले चासो नदेखाएको भन्दै स्थानीयले गरेको गुनासोप्रति हामी जानकार छौं। यसमा विषयमा सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो नभएको पक्कै हो। यस विषयमा प्रदेशसभामा जोडतोडले अब कुरा उठाउँछौं। सडक विस्तारमा संघीय सरकारले पनि सहयोग गर्नुपर्छ।'
तर सो क्षेत्रमा हुने दुर्घटनाको कारण साँघुरो सडक मात्र नभएको उनको दाबी थियो। मानवीय कमजोरी र धरातलीय अवस्थाका कारण पनि दुर्घटना हुने गरेको उनको भनाइ थियो। सडक दुर्घटना न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताइन्।
छानबिन समिति गठन
पछिल्लो दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले घटनाको छानबिन गर्न समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले १५ दिन भित्र प्रतिवेदन बुझाउने समय सीमा पाएको छ।
समिति सदस्यहरुमा सन्धिखर्क नगरपालिका, जिल्ला सरकारी वकिलको कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, सन्धिखर्क नगरपालिका वडा न ६, जिल्ला ट्राफिक कार्यालय, पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि, देउराली यातायात प्रा.लि, नेपाल पत्रकार महासंघलगायत रहेका छन्।
सोही बैठकले सडक दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, यातायात सुधार र दुर्घटना न्यूनीकरण गर्न सुझाव समिति गठन गर्ने, सबै यातायात समितिले चालक र सहचालकहरुलाई १५ दिन भित्र तालिम तथा प्रशिक्षण दिने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।