काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल सम्मिलित समूह 'बी' को खेलमा जिम्बावेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।
जिम्बावे दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३ बल खेल्न बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो। कुनै समय १ सय ६४ रन बनाउँदा ४ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाएको थियो। ३७ ओभरमा सिकन्दर राजाले ३ विकेट लिएपछि खेल जिम्बावेको पक्षमा फर्किएको थियो।
३० रन चाहिएको अवस्थामा नवौं विकेटका लागि सैपुर जार्डान र दाउलात जार्डानले २७ रनको मात्रको साझेदारी गर्न सके। अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा सइपुर आउट भएका थिए।
त्यसअघि अफगानिस्तानका लागि राहमत साहले ६९ रन र मोहमद नाबीले ५१ रन बटुले। बलिङतर्फ मुजारबानीले ४ विकेट लिँदा सिकन्दर राजाले ३ विकेट हात पारे।
त्यसअघि जिम्बावे ४३ ओभरमा १ सय ९६ रनमा अलआउट भयो। ब्रेन्डन टेलले ८९ र सिकन्दर राजाले ६० रन जोडे। बलिङतर्फ अफगानिस्तानका रसिद खान र मुजिव उर रहमानले ३–३ विकेट लिए। राजा खेलको म्यान अफ दि म्याच भए। उनी नेपाल विरुद्धको खेलमा पनि म्यान अफ दि म्याच भएका थिए।
आजै भएको समूह बीको खेलमा स्कटल्यान्डले हङकङलाई ४ विकेटले हरायो। योसँगै स्कटल्यान्ड र जिम्बावेले २–२ खेलमा जित हात पारे। अफगानिस्तान दुवै खेलमा पराजित हुँदा नेपाल र हङकङ १–१ खेलमा पराजित भए।
समूह एको खेलमा आयरल्यान्डले पपुवा न्युगिनीलाई ४ विकेट र वेस्ट इन्डिजले युएईलाई ६० रनले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।