काठमाडौं- राष्ट्रियसभामा मनोनीत अर्थमन्त्री डा युवराज खतिवडासहित ३ सांसदहरुको मुद्दाको मंगलबार पनि पेशी तोकिएको छ।
आइतबारदेखि निरन्तर पेशी तोकिँदै सुनुवाइ नहुँदै आएको उक्त मुद्दा आज न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलाशमा पेशी तोकिएको हो। आइतबार न्यायाधीशद्वय प्रकाशसिंह राउत र हरिकृष्ण कार्कीको इजलाशमा पेशी तोकिएको थियो। तर उनीहरुले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन पाएन।
सोमबार पुन: न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको इजलाशमा तोकिएको थियो। तर सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंहको निधनपछि सबै इजलाश स्थगित हुँदै मुद्दाको सुनुवाइ सरेको थियो। आइतबार नै प्रतिनिधिसभा र राष्ट्रियसभाका अन्य सांसदले सपथ लिए पनि उनीहरु सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सपथ लिनवाट वञ्चित भएका थिए।
उक्त मुद्दा आज ज नम्बरमा पालो परेको छ। उक्त मुद्दा सुनुवाइ भई यसअघि जारी भएको अन्तरिम आदेश खारेज भएमा उनीहरुलाई सांसदको सपथ लिन बाटो खुला हुनेछ। यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर भएमा उनीहरुले मुद्दाको फैसला नभएसम्म सपथ लिन पाउनेछैनन्।
प्रधानमन्त्री देउवाले आफू सरकारबाट बाहिरिने समयमा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेका थिए। सरकारले राष्ट्रियसभाका लागि ३ जना सिफारिस गर्न पाउने संविधानको व्यवस्था अनुसार देउवाले उनीहरुको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए। तर, राष्ट्रपति भण्डारीले उनीहरुको नाम अनुमोदन नगरी तामेलीमा राखेकी थिइन्।
सरकार परिवर्तन भए लगत्तै ओली सरकारले उनीहरुको नाम फिर्ता लिएको थियो। लगत्तै उक्त स्थानमा डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याल राईलाई सिफारिस गरेको थियो। त्यही सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरिदिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।