फाइल तस्बिर
काठमाडौं- मलेसियामा अवैध रहेका नेपाली श्रमिकहरू नेपाल फर्कने अवसर अब एक महिना मात्रै बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका आप्रवासी श्रमिकहरूका लागि लागू गरेको ब्याक फर गुड कार्यक्रममार्फत् डिसेम्बर मसान्तसम्म स्वदेश फर्कन पाउने समय छ।
यो समयमा मलेसियामा रहेका सम्पूर्ण अवैध श्रमिकहरू फर्कन पाउने गरी दूतावासले मलेसियाका मुख्य मुख्य सहरहरूमा आफैं पुगी श्रमिकहरूलाई यात्रा अनुमति पत्र (ट्राभल डुकुमेन्ट) प्रदान गर्ने भएको छ।
आइतबार मलेसियाको पेनाङ सहरबाट नेपालीहरुलाई ट्राभल डकुमेन्ट प्रदान गर्ने भएको हो। ट्राभल डकुमेन्टका लागि नेपाली नागरिकता वा राहदानीको प्रतिलिपी, दुई प्रति पासपोर्ट साइजको फोटो तथा शूल्क १ सय ६० मलेसियन रिंगिट लाग्ने दूतावासले जनाएको छ।
यो एक महिनाको अवधिमा मलेसियास्थित अवैध रहेका सबै नेपालीलाई सुरक्षित तरिकाबाट घर फर्कन दूतावासले आग्रह समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।