काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल सम्मिलित समूह 'बी' को खेलमा स्कटल्यान्डले लगातार दोस्रो जित हात पारेको छ।
स्कटल्यान्डले मंगलबार जिम्बावेको बुलावायोमा भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको हो। यसअघि आइतबारभएको पहिलो खेलमा स्कटल्यान्डले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो।
हङकङले दिएको ९२ रनको झिनो लक्ष्य स्कटल्यान्डले ६ विकेटको क्षतिमा २३.३ ओभरमा पार गर्यो। स्कटल्यान्डका लागि केल कोइटजरले सर्वाधिक ४१ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए। बलिङतर्फ हङकङका इसान खानले ३ र इसान नवाजले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ३८.२ ओभरमा ९० रनमा अलआउट भयो। हङकङका लागि ओपनर निजाकत खानले सर्वाधिक २६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। हङकङको इनिङ ध्वस्त पार्न स्कटल्यान्डका टम सोलले ४ विकेट लिए। यस्तै अलास्डयर इभान्सले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए।
प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको स्टकल्यान्डसँग नेपालले बिहीबार प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपाल आइतबार भएको पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।