भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत मंगलबार भएको समूह (सी) को खेलमा न्यू होराइजन क्रिकेट क्लब बुटवल सेमिफाइनल प्रवेश गरेको छ।
एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवालाई १ सय ९६ रनको विशाल अन्तरले हराउँदै होराइजन सेमिफाइनल प्रवेश गरेको हो। हारसँगै गत वर्ष सेमिफाइनल पुगेको तथा केही महिना अगाडि भैरहवा सम्पन्न प्रथम सिद्धार्थनगर मेयर कपको विजेता समेत तिरुपति रेलिगेशनमा परी डिभिजन ‘बी’ मा घटुवा भएको छ।
मंगलबारको खेलसँगै सेमिफाइनलमा पुग्ने टिमको टुंगो पनि लागेको छ । यसअघि लुम्बिनी खुकुरी, देवदह क्रिकेट युनिट र शिवशक्ति क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन्।
टस जितेर पहिला ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेटको क्षतिमा २ सय ६७ रन जोड्यो। उसका लागि नूरध्वज सेनले ७७, विशाल खत्रीले ६९ र गणेश गौडेलले २६ रन बनाए। बलिङमा एपेक्स तिरुपतिका आयुष पाण्डेले ४, नवीन भट्टराईले ३ तथा शरद रायले २ विकेट लिए।
२ सय ६८ रनको लक्ष्य पछ्याएको तिरुपतिले ३० ओभर ५ बलमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनायो। उसका लागि विपिन न्यौपानेले १९ र अमित कौशिल्याले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले नराम्रोसँग हार व्यहोर्यो। उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा होराइजनका शुवान भारीले ४ तथा विपिन खत्री र प्रकाश गिरीले समान २-२ विकेट लिए । खेलमा होराइजनका नुरध्वज सेन म्यान अफ द म्याच घोषित भए।
बुधबार लिग चरण अन्तर्गत अन्तिम खेल समूह (डी) मा रहेका बुम एमसिसी क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने छ। यी दुईबाट विजयी हुने टिम ‘ए’ डिभिजनमा नै रहने र पराजित हुने ‘बी’ डिभिजनमा घटुवा हुने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।