विराटनगर– जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख रुपैयाँ नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भारत फारबिसगञ्ज–१ का ४५ वर्षीय नारायण साहलाई विआर११एए ६२६५ नम्बरको भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेको अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर–१५ बाट पक्राउ गरिएको जानकारी दिइएको छ।
कुन प्रयोजनका लागि उक्त रकम नेपाल ल्याइएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए।
पक्राउ परेका भारतीयलाई सम्पत्ती शुद्धीकरण र राजश्व अनुसन्धान विभाग काठमाडौंमा आवश्यक कारबाहीका लागि पठाइएको छ। उक्त रकम हुन्डी कारोबारको पैसा हुनसक्ने आँलकन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।